‘भूमिसम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५’ पारित

राजनीति

काठमाडौँ, २९ भदौ प्रतिनिधिसभामा ‘भूमिसम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअघि मन्त्री ढकालले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको भूमि सम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

छलफलमा सांसद प्रेम सुवालले हरुवा, चरुवा र कमैयालाई जमीनको व्यवस्था गरिनुपर्ने र  उपभोग गर्नेलाई नै जमीन दिइनुपर्ने बताउनुभयो । सांसदले उठाएका विषयको जवाफ दिँदै मन्त्री ढकालले सातौँ पटक संशोधन भएको विधेयकले भूमिसम्बन्धी धेरै समस्या समाधान गर्ने विश्वास गरिएको बताउनुभयो  । बैठकले समितिको संशोधन प्रस्ताव स्वीकृत गरी विधेयकको अंग बनाउने प्रस्ताव पनि पारित गरेको थियो । विधेयकको नाम र प्रस्तावना पनि बैठकले स्वीकृत गर्यो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ३० गते अपराह्न २ बजे बस्नेछ । (रासस)

Loading...