झापा धान सुपरजोनका किसान पुगे बर्दियाको राजापुर

कृषि मुख्य समाचार

केशवराज भण्डारी, झापा, २९ भदौ, हरेक वर्ष झैँ धान सुपरजोन झापाले आफ्ना क्षेत्रका कृषकहरुलाई अध्ययन अवलोकनका लागि बर्दिया जिल्लाको राजापुरसम्म पुर्याएको छ । झापाको दक्षिणी क्षेत्रमा पर्ने कचनकवल गाउँपालिका अर्थात प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान सुपरजोनको सेवा क्षेत्र भित्रका कृषकहरुलाई अवलोकन भ्रमणका लागि बर्दिया लगिएको हो ।

सो अध्ययन भ्रमणमा ३० जना कृषकको सहभागिता रहेको थियो । आर्थिक वर्ष २०७५–०७६ का लागि स्वीकृत कार्यक्रम अन्तर्गत विभिन्न कृषि प्रविधि तथा गतिविधिको अध्ययन अवलोकन कार्यक्रम सम्पन्न गरिएको हो । २०७५ भाद्र २१ गते देखि २५ गते सम्म सञ्चालित भ्रमण झापाबाट सुरु भइ नेपाल कृषि कम्पनीद्वारा सञ्चालित प्रविधि र प्रविधि मैत्री खेतीको अवलोकनबाट अगाडि बढेको थियो ।

भ्रमणमा सहभागि कृषकहरुलाई नेपाल कृषि कम्पनीले सञ्चालन गरेको मोरङ्गको डाँगीहाट कृषि फर्मका प्रमुख डाक्टर विवेकानन्द झाले मेसिन उपकरणका उपयोगिता तथा त्यसमा लाग्ने लागत साथै धानका सफल जातका बारेमा जानकारी गराएका थिए । त्यसपछिको यात्रा धनुषा जिल्लामा रहेको राष्ट्रिय धानवाली अनुसन्धान केन्द्र अवलोकनकालागि अगाडि बढ्यो । हर्दिनाथ, बनिनियाँ धनुषामा रहेको राष्ट्रिय धानबाली अनुसन्धान केन्द्रले गर्ने काम र धानबालीमा प्रयोग हुने नविनतम प्रविधि तथा यन्त्र उपकरणका लागि केन्द्रका प्रमुख डाक्टर रामवरण यादवले कृषकहरुलाई जानकारी गराए । सो अनुसन्धान केन्द्रमा भएका विभिन्न जातका धानहरुको जानकारी सँग–सँगै पानी विना पनि फलाउन सकिने धानको जातको विकास गरिदै गरेको टनेलको पनि अवलोकन गराइएको थियो । सेन्सर जडित उक्त टनेल पानी पर्दा आफैँ बन्द हुने र घाम लाग्दा आफैँ खुल्ने प्रविधि देखेर थप उत्सुकता जागृत भएको सहभागि कृषकहरुले बताए ।

हेटौँडाबाट कपिलबस्तुको धान सुपरजोन अध्ययनका लागि अगाडि बढेको भ्रमण टोलीले कपिलबस्तुमा रहेको द्रोण राजभण्डारी संयोजक रहेको धान सुपरजोन कार्यान्वयन इकाइ कपिलवस्तुका प्रमुख मुकुन्द भुसालबाट सो क्षेत्रका गतिविधिका बारेमा जानकारी गराइएको थियो ।
त्यसपछि मकै सुपरजोन अध्ययनका लागि दाङको राप्ती गाउँपालिका तर्फ भ्रमण टोली अगाडि बढ्यो । हुकुमबहादुर बस्नेत संयोजक रहेको मकै सुपरजोन दाङको अवलोकनमा भार्मिक कम्पोष्ट मल, कस्टम हायरिङ सेन्टर तथा सोलार सिचाई प्रविधिको अध्ययन गरेको भ्रमण टोलीलाई प्रति कठ्ठा ७ क्वीन्टल धान फलाउन सकिने चिनिया धानको जात विकास गरेको जानकारी सञ्चालक समितिका संयोजक बस्नेतले गराए ।

दुई बालीसम्म मकै फलाउन सकिने मकै सुपरजोन क्षेत्रमा यो भदौको सिजनमा भने चारैतिर धानवाली मात्र देख्न सकिन्छ । मकै खेतीमा आधुनिकिकरणका लागि केही सामान्य मेसिन खरिद गरेको मकै सुपरजोनबाट कृषकहरु बढि नै आकर्षित भएको पाइयो ।

त्यसपछि टोलीले दाङको सतबरियामा निर्माण गरिएको कष्टम हायरिङ सेन्टरको अवलोकन गरेको थियो । मकै गोड्ने मेसिन तथा अन्य मेसिनको अवलोकन गरेर भ्रमण टोली बाँके जिल्ला तर्फ अगाडि बढेको थियो ।

 

बाँके जिल्लाको कोहलपुर हुँदै भ्रमण टोली कर्णाली नदिने टापु बनाएको राजापुरमा रहेको धान सुपरजोन कार्यान्वयन इकाइको अफिस पुग्यो । यो राजापुर क्षेत्र भारतको सीमावर्ती क्षेत्र हो यहाँका अधिकांश कृषकहरु धान खेतीमा आश्रीत छन् । यहाँको धान सुपरजोन सञ्चालक समितिका संयोजक तथा राजापुर नगरपालिकाका मेयर एकै ब्यक्ति शिव प्रसाद चौधरी रहेका छन् । जसले गर्दा यस क्षेत्रमा सुपरजोन कार्यान्वयन इकाइ सञ्चालनका लागि कुनै पनि समस्या नरहेको देखिएको छ ।

कस्टम हायरिङ सेन्टरमा कृषि यन्त्र, उपकरणको ब्यवस्थापन गरेको धान सुपरजोन राजापुर बर्दियाले भने लेजर लेण्ड लेवलरको समेत ब्यवस्थापन गरेको छ । जसले गर्दा कृषकहरुलाई प्रविधि मैत्री खेती गर्न सहज भएको छ ।

बर्दियाको राजापुरमा रहेको धान सुपरजोनको अध्ययन अवलोकन पश्चात कैलाली, टिकापुर हुँदै फर्किएर कपिलवस्तुको तिलौराकोट, गौतम बुद्धको जन्मस्थल लुम्बिनी अवलोकन गर्दै नवलपुरमा रहेको कृषि यन्त्र परीक्षण तथा तेलहन बाली अनुसन्धान केन्द्रको अवलोकन गरेको थियो ।

सो अध्ययन अवलोकन भ्रमणबाट थप हौसला तथा उर्जा मिलेको भ्रमणमा सहभागी कृषकहरुले बताएका छन् । देशका विभिन्न जिल्लामा गरिएका अध्ययनबाट धान सुपरजोन बनियानी झापाले कृषक स्तरमा सञ्चालन गरेका गतिविधि तथा कार्यक्रमहरुको प्रभावकारीता भने अरु जिल्लाको तुलनामा अब्बल देखिएको झापा फर्किएको टोलीले निष्कर्ष निकालेको छ ।

Loading...