मा…कस्सम ! भीम निरौलालाई रथारोहण गर्ने मन छ

मुख्य समाचार विचार

–डिल्लीरमण सुवेदी
म बच्चैदेखि गीत, संगीत भनेपछि हुरुक्क हुने मान्छे । आठ/नौ वर्षको उमेर हुँदै मैले चार सय रुपैयाँमा एउटा सानो रेडियो किनेको थिएँ गीत सुन्नलाई । उबेला प्रायः पौने छ बजेदेखि आकाशवाणी रेडियोबाट गीत सुनिन्थ्यो अनि अल इण्डिया रेडियोबाट पौने आठ बजे गीत सुनिन्थ्यो । त्यसमा थप बीबीसी र सिआरआई रेडियो छुट्दैन थिए । त्यो बाहेकको समय भनेको रेडियो नेपाललाई थियो ।

घाँस काट्न जाँदा, गोरु चराउन जाँदा, दाउरा खोज्न जाँदा विर्खे बाका झैं मेरो पनि साथैमा रेडियो हुन्थ्यो । विर्खे बा पनि खुब रेडियो सुन्ने मान्छे । काठको बाकस जस्तो रेडियो बगलीमा भिरेर घर छाउँदा छानामा चढ्थे । बाटो हिड्दा रेडियो बजाउँदै हिड्थे । विर्खे बा आएको रेडियो बजेको सुनेरै थाहा हुन्थ्यो ।

रेडियोले कहिल्यै वाक्क लगाएन । खेल्दा, आराम गर्दा, खेतबारीमा काम गर्दा रेडियो साथैमा हुन्थ्यो । पढ्दा पनि छेउमा रेडियो घन्काएपछि ध्यान अन्त जाँदैन थियो र पढाइमा मन लाग्थ्यो । रेडियोले कहिल्यै डिस्टर्व गरेन ।

यो रेडियो सुन्ने क्रम एफ.एम. रेडियोको विस्तारसँगै त्यता तिर मोडियो । पूर्वाञ्चलको पहिलो एफ.एम. रेडियो कोशी एफएमको नियमित श्रोता भइयो । रेडियोमा गीत सुन्ने, पत्राचार गर्ने, गीत, कविता पठाउने रुपमा विकसित भयो । एक किसिमले कोशी एफएमले मोहनी लगायो । कोशी एफएमबाट बज्ने ‘मेरै पाखा, मेरै भाखा’ कार्यक्रम औधी मनपथ्यो । मीठामीठा लोकगीत सुन्न पाइने सो कार्यक्रममा निक्कै नै पत्राचार पनि गरियो । सो कार्यक्रमका प्रस्तोता रमेश हतुवालीको आवाज, विषयवस्तुको उठान र बज्ने गीतको छनौटमा मन्त्रमुग्ध नहुने सायदै कम होलान् । त्यो रेडियो र रेडियो कार्यक्रमसँगको सम्बन्ध पछि व्यक्तिगत र पारिवारिक रुपमा पनि विकसित भयो । रेडियोबाटै चिनेका प्रस्तोता रमेश हतुवाली (रमेशकुमार भट्टराई) दाइ अहिले पनि मेरो सहकर्मी, सहयात्री तथा आदरणीय अभिभावकको रुपमा हुनुहुन्छ । त्यो कोशी एफएमकै देन हो ।

एफएम रेडियोको विकाससँगै अलइण्डिया रेडियो, आकाशवाणी रेडियो छुटे, रेडियो नेपाल सुन्ने क्रम कम भयो । त्यसको ठाउँ विराटनगरको कोशी एफएम, झापाको कञ्चनजंघा एफएम, काठमाडौँको कान्तिपुर एफएम र इमेज एफएमले लिए । एफएमबाटै हरेक प्रकारका गीत, संगीत सुन्ने सुविधा पाइयो । कान्तिपुर एफएमबाट मंगलबार साँझ प्रशारण हुने सविना कार्कीको ‘हिन्दी हंगामा’ कार्यक्रमप्रति फिदा नै भएको थिएँ । सविनाको स्वर, प्रस्तुती र नयाँ नयाँ हिन्दी डान्सिङ नम्बरका गीतले मलाई मुग्ध पारेको थियो । त्यो कार्यक्रम सुनेरै मैले धेरै पटक आफ्नो वैंश पोखेँ हुँला । तर सविनासँग पहिलो भेट नै निराशाजनक रह्यो, रेडियोमा र प्रत्यक्ष भेटमा आकाश जमिनको फरक पर्यो ।

२०६२ को अन्त्यमा काठमाडौँ प्रवेश गरेसँगै रेडियो सुन्ने क्रम घट्दै गयो । रेडियो भनेको समाचार सुन्ने मात्रै हो भन्ने तर्फ मोडियो । किनकी गीत, संगीत त कम्प्युटरमा, मोबाइलमा प्रशस्तै सुन्न पाइन्थ्यो । २०६३ सालमै पहिलो पटक मोबाइल खरिद गरेर गीत सुन्ने माध्यम बनाउन थालेँ । केही समयपछि युट्युव आयो । त्यसमा जे भन्यो त्यही, जस्तो भन्यो त्यस्तै, भिडियोसहित हेर्न पाइन थाल्यो । अब रेडियोमा गीत, संगीत सुन्न नपर्ने अवस्था आयो ।

सन् २०१० को अप्रिल १९ तारिख युट्युव हेर्दै जाँदा नयाँ गायक भीम निरौलाको गीत देखापर्यो । पहिलो पटक सुनेँ विश्वासै लागेन ‘हैन, यो गीत नै हो त ?’ । फेरि दोस्रो पटक सुने साँच्चै हो कि क्या हो जस्तो भयो । तेस्रो पटकदेखि सुन्नै परेन । दिमागमा घुमेको घुमेकै गर्यो । करिब तीन, चार दिनसम्म दिमागबाट हट्दै हटेन । मलाई के भइरहेको छ ? म आफैँ कन्फ्युजमा परेँ । यस्तो मलाई मात्रै भएको हो कि अरुलाई पनि हुन्छ ? मलाई आशंका जाग्यो । भाइ प्रकाश बस्नेतलाई सो गीत सुन्न आग्रह गरेँ । पहिलो पटक सुन्दा फिस्स हाँसे, दोस्रो पटक सुनेपछि हाँसेको साढे चार घण्टा निरन्तर हाँसी रहे । त्यसको तीन दिनपछि पो यसो विचार गर्छु एक्लै हुँदा पनि भाइ त्यही गीत गुनगुनाइ रहेका छन् । हैन के हो यस्तो ? भनेर सोधेँ । ‘मा… कस्सम दाइ यो गीत त मेरो दिमागबाट हट्दै हटेन, म बौलाई त सकिँन ?’ अनि दुबै जना लडिलडि हास्यौँ । बल्ल सन्तोक भयो । मलाई मात्रै त कहाँ त्यस्तो भाको रैछ र ! त्यो गीत थियो ‘कसैलाई देखेर किन किन यो मन एकोहोरी गयो…’ ।

त्यसको केही वर्षपछि सन् २०१३ मा भीम निरौलाको अर्को अङ्ग्रेजी गीत पनि युट्युवमा आयो ‘सण्डे मर्निङ लभ यु….’ बोलको । स्वर, संगीत, म्यूजिक भिडियोको कारण सो गीत युट्युवमा भाइरल नै भयो । अधिकांशले नकारात्मक कमेन्ट गरे । धेरै राष्ट्रिय दैनिक र अन्य पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइनले आशंकापूर्ण समाचार प्रकाशित गरे । गीत सुन्दा हाँसउठ्दो मात्रै छ तर पनि युट्युवमा भाइरल भइरहेको छ । जे होस् भीम निरौलालाई सो गीतले राम्रैसँग चिनायो । रमाइलोकै लागि भए पनि सो गीत धेरैले सुने त्यसमा म पनि एक गतिलो स्रोता हुँ ।

यो गीत सुन्दा यस्तो लाग्यो, ‘अब गीत भनेको जस्तो गाए पनि हुन्छ, जस्तो संगीत गरे पनि हुन्छ, जस्तो नृत्य गरे पनि हुन्छ, जसले गरे पनि हुन्छ ।’ वरिष्ठ गायक, गीतकार, संगीतकार पनि चित खाएको अनुभव गरेँ मैले । युट्युव र अनलाइनले केके मात्रै गर्छ सबै तीनछक्क परे भन्ने मेरो ठहर्याइ छ । कत्राकत्रा मै हुँ भन्नेको गीत युट्युवमा १० हजार भ्यूज पुगेका थिएनन् भीम निरौलाको लाखबाट मिलियन तिर यात्रा गर्दै थियो । सामाजिक सञ्जालमा भीम निरौलाको गीतको नकारात्मक टिप्पणी गर्ने बाहेक कसैले केही गर्न सकेन । यो गीतको यो मिलेन वा भएन भनेर करेक्सन गर्ने आँट न कसैले गर्यो न यो गर्नुपर्छ भनेर सुझाव नै दिन सक्यो । उनको गायन, मिडियामा अन्तर्वार्ता र समाचार चलिनै रहयो ।

निरौलाका गीत त्यसपछि पनि आइनै रहे तर सण्डे मर्निङ लभ यु… जस्तो चर्चा कमाउन सकेनन् । धेरैले सुन्न पनि पाएनन् । अहिले सन् २०१८ को सेप्टेम्बर १ तारिखमा म्यूजिक नेपालले निरौलाको फेरि अर्को गीत हाल्यो जुन गीतको बोल छ ‘प्रोफेसरको पनि लभ पर्यो…’ । मैले पनि यो गीत सुनेँ । पहिलेको गीत भन्दा रिठ्ठो फरक छैन । निरौलाको आफ्नै शब्द, संगीत, स्वर, म्यूजिक भिडियोको निर्देशन रहेछ । यो गीत सुनेर म अवाक भएँ । तीन÷चार वर्षको अवधिमा केही त परिवर्तन आउनु पर्ने गीतमा त्यो देखिँन । भिडियो राम्ररी हेरेँ निरौलाको शरीरमा चाहिँ परिवर्तन आएछ, दाँत फुस्केछन्, जीउ घटेछ ।

निरौलाको गीत सुनेपछि त्यसै बस्न मन लागेन अनि फेसबुकमा लेखेँ ‘त्यसै त्यसै जोवन नै खल्लो खल्लो भइराथ्यो, किन रैच भनेको त भीम निरौलाको गीत सुन्न नपाएर पो रैच’ । त्यो स्टाटसमा कमेन्ट गरेर प्रकाश भाइले सुन्न चाहेकोले लिङ्क मागे । त्यो गीत सुनेपछि भाइले भने ‘दाइ त्यो भीम निरौलालाई कारबाही गर्नु, हैन भने म बौलाउने भएँ, मर्ने भएँ ।’ उनलाई थुम्थुम्याउँदै मैले भने, कारबाही गर्ने हैन भीम निरौलालाई बग्गीमा राखेर काठमाडौँमा रथारोहण गरौँ ।’ उनको जवाफ थियो, ‘लु त्यसै गरौँ, मन अलि शान्त हुन्छ कि !’

म गीत, संगीतको असल स्रोता हुँ भन्न मन पराउँछु । गीत अंग्रेजी होस्, नेपाली होस्, जातजाति, भाषाभाषिको होस् वा अन्य विदेशी भाषाको होस् वा शास्त्रीय संगीत मलाई खुब मन पर्छ हरेक गीत सुन्ने र हेर्ने गर्छु । तर के गीतको कुनै सीमा हुँदैन ? गीतको धर्म हुँदैन ? के बाजा ठोकेर मुखबाट बरबराउँदैमा गीत हुन्छ ? लय, ताल, सुर, शब्द केही मिल्नु पर्दैन ? स्वर चाहिँदैन ? नृत्य गर्नलाई नृत्य कला चाहिँदैन ? रेकर्ड गर्न के पैसा भए पुग्छ ? रेकर्डिङ स्टुडियोको इमेज हुँदैन ? वरिष्ठ संगीतकार, रचनाकार, गायक, गायिका, एरेन्जर, रेकर्डिङ स्टुडियो, म्यूजिक भिडियो निर्माता टिम, बजार प्रवद्र्धक वा सरोकारवाला निकायले यस विषयका बोल्नु पर्दैन ? उनीहरुलाई अलिकति पनि लाज हुँदैन ? रेडियो नेपालले गर्ने स्वर परीक्षा खोइ कहाँ गयो ? विज्ञसँग प्रश्न गर्न मन छ । उत्तर त आउँदैन मलाई थाहा छ । तै पनि नेपाली गीत, संगीतको स्रोता भएकोले यति प्रश्न गरेर भए पनि भड्किएको मन शान्त पार्न खोजेँको मात्रै हुँ ।

गीत, संगीतसँग सरोकार राख्ने व्यक्ति, संघ, संस्था वा निकायले नेपाली सांगीतिक बजारलाई व्यवस्थित गर्नु अहिलेको आवश्यकता हो । गीत, संगीतलाई सुन्न र हेर्न लायक बनाइ दिनुहोस् । स्रोता तथा दर्शकको भड्किएको मन शान्त गराई दिनुहोस् । बजारमा आउने ताइनतुईका गीत सुनेर स्रोताको मनमा भएको पीडाको क्षतिपूर्ति कस्ले तिर्न सक्छ ? यो विषयमा विचार गरिदिनुहोस् । वार्षिक अर्बौ लगानी हुने संगीत क्षेत्रको सुधार र व्यवस्थापनको लागि पहल गरिदिनु होस् मेरो यति आग्रह छ ।

इति ।

Loading...