५० वर्षपछि जातीय विभेद अन्त्य, शिव मन्दिरमा दलितलाई निर्वाध प्रवेश अनुमति

मुख्य समाचार समाज

अनिल गुप्ता, कलैया (बारा), २६ भदौ, बाराको सिम्रौनगढ नगरपालिकामा वडा नं.७ झवानी स्थित महादेव मन्दिरमा दलित तथा गैर दलितले शिव मन्दिरमा प्रवेश गरी पुजा पाठ गरेका छन् । जातीय विभेद नगर्ने सहमतिपछि दलितहरुले करिब ५० वर्षपछि मन्दिर प्रवेश गर्न पाएका हुन् ।

वर्षैदेखि यहाँका दलितलहरुलाई गैरदलितहरुले मन्दिर प्रवेश गर्नमा रोक लगाएका थिए । सोमवार भएको छलफलपछि मन्दिर प्रवेश गर्ने सहमति भएको हो । सहमतिपछि झवानीका दलितहरु मंगलबार मन्दिर प्रवेश गरेर पूजाआजासमेत गरेका छन् ।

वर्षौपछि गाउँको महादेव मन्दिरमा प्रवेश गरेर पूजा गर्न पाएपछि आफूहरु खुसी भएको वडा नम्बर– ७ का वडा सदस्य सरस्वती रामले बताइन् । ‘वषौँदेखि मन्दिर प्रवेश नपाएको र आज मन्दिरमा पसी निर्धक्क भई पूजा गर्न पाउँदा खुसी लागेको छ’ स्थानीय दलित अगुवा बिनोद राम भने । करिब १ हप्ता अगाडि सिम्रौनगढ नगरपालिकाका मेयर विजयशंकर यादवको पहलमा दलितहरुसँग अहिलेको जमानामा पनि छुवाछुत तथा भेदभाव गर्नु कानुनको विपरित भएको ठहरअनुसार मन्दिरमा निर्वाध रुपमा दलित समुदायका व्यक्तिहरुलाई पुजापाठ गर्नका लागि पहल गर्न दलित र गैर दलित मिलाई ९ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

राष्ट्रिय सभाका सांसद रामपृत पासवान, नेपाल दलितसंघका केन्द्रीय सदस्य धर्मेन्द्र पासवान, दलित अभियन्ता रामविनय पासवान, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर–२ का अध्यक्ष दिपेन्द्र चौहान, प्रदेश सदस्य सिकेन्द्र पासवान, प्रहरी नायव उपरीक्षक रंजित सिह राठौर, स्थानीयहरु नन्दू राम, बिनोद राम, सरस्वती देवी रामलगायतका ब्यतिmहरुको पहलमा समस्या समाधान गर्न दवाव सृजना भएपछि समस्या सुल्झेको हो । यसैबीच दलित समुदायका ब्यक्तिहरुले मन्दिरमा निर्वाध रुपमा दलित समुदायका ब्यक्तिहरुलाई प्रवेश गर्न दिएको सबैलाई धन्यवाद दिँदै आभार प्रकट गरेका छन् ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर–७ का वडा अध्यक्ष रमेश कुर्मीको संयोजकत्वमा गठन गरिएको समितिका सदस्यहरु अवधेश सहनी, रामकिसुन महतो, रामबाबु राम, बिनोद राम, राजन दुबे, सोहान राम, नन्दु राम, अमित सिंहसहितको बैठकले ५ बुँदे निर्णय गरेको हो । मन्दिरमा पुजापाठ निर्वाध रुपमा गर्नदिने, पुजारी ब्यवस्थापन गर्ने, दुबैतर्फबाट फोहर गाली गलौच गर्न नपाउने, आजैका मितिदेखि छुवाछुत तथा भेदभाव अन्य गर्ने र चर्पी निर्माण गर्ने सहमति भएको समितिका संयोजक वडाअध्यक्ष कुर्मीले जानकारी दिए ।

Loading...