नेताको विदेश भ्रमण पनि सफल नहोला त !

मुख्य समाचार विचार

– डिल्लीराज अर्याल
मैले उडाउन होइन यथार्थमा भन्दैछु । अहिलेसम्म भारत भ्रमण गर्ने कति नेता भए ! कति कूटनीतिज्ञ भए ! त्यसको लेखाजोखा त मसँग छैन तर मसँग त्यस्तो भ्रमण असफल भएको जानकारी पनि छैन । आजसम्म कसैको भ्रमण असफल भएको भनेर भनिएको पनि थाहा छैन ।

तीन दिन अघि मात्रै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड भारत भ्रमणबाट फर्किनु भयो उहाँको भ्रमण पनि खत्रै सफल भयो । आज मात्रै सभामुख कृष्णबहादुर महरा चीन भ्रमणबाट फर्किनु भयो उहाँको भ्रमण त झन् सफल र उपलब्धिपूर्ण ।

सोच्छु – हामी गाउँघरे केही नजान्नेको भ्रमण त सफल हुँदै आएको छ। सुनौली गयो सामान किन्यो ल्यायो । नौतनवा गयो सामान किन्यो ल्यायो । कहिले गोरखपुर, कहिले बनारस गएर प्रश्नपत्र, पुस्तक छपायो आयो । कहिले भटनी कहिले इलाहावाद, फैजावाद, अयोध्या, आसाम, गोहाटी पुगेर गोजामा भएका पैसा सकेर, कहिले त थाल, कचौरा बेचेर भाडा तिर्दै एकएक मुठी भुटेका चनाले छाक, अझ दिन टारेर फर्कनु पर्दा पनि हाम्रो यात्रा असफल भएको छैन ।

साँच्चै असफल यात्रा कस्तो हुन्छ होला ? कसको हुन्छ वा भयो होला ? त्यो पनि नेता, कर्मचारी वा कूटनितिज्ञको ? गिरिजाप्रसाद, शेरबहादुर, केपी ओली, पुष्पकमल, माधव नेपाल जस्ता हस्तीहरूको त असफल हुने कुरै भएन । हामी गोजाका पैसा तुरेर हलनटट्टु हुनेका त सफल हुन्छन् भने पार्टीका, राज्यका पैसाले मज्जाले घुमेर, मेजमानी समेत खाएर आउनेको असफल होला त ? हुँदैन । भएको पनि छैन, हुने पनि छैन र नहोस् पनि ।

Loading...