वसन्तको ‘७२ को विस्मात’ विमोचन

मुख्य समाचार विषेश समाचार साहित्य

काठमाडौँ, २३ भदौ, पत्रकार वसन्त बस्नेतको पहिलो पुस्तक ‘७२ को विस्मात’ सार्वजनिक भएको छ । राजधानीमा शनिबार आयोजित एक भव्य समारोहकाबीच पूर्वराष्ट्रपति तथा कार्यक्रमका प्रमुख अतिथि रामवरण यादवसहितका अतिथिहरुले पुस्तक विमोचन गरे ।

विमोचनपछि मन्तव्य व्यक्त गर्दै पूर्वराष्ट्रपति यादवले २०७२ को संविधान जारी गर्दाको सकसलाई पुस्तकले निक्कै गहिरो गरी व्याख्या गरेको उल्लेख गरे । मधेस आन्दोलन, नाकाबन्दीबीचको सकसलाई पुस्तकले व्यक्त गरेकोमा खुसी लागेको धारणा राखे । संविधान जारी गर्ने विषयमा आफू पनि समेटिएको उल्लेख गर्दै यो पुस्तकले त्यो बेलाको अफ्ठ्यारो केलाएको बताए । उनले लेखकलाई शुभकामना पनि दिए ।

कार्यक्रमका अतिथि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लेखक बस्नेतलाई शुभकामना दिँदै जटिल र बर्जित विषयमा कलम चलाउने दृष्टता गरेको प्रति बधाई दिए । उनले महत्वपूर्ण बेलामा महत्वपूर्ण ढंगले यो पुस्तक बाहिर आएको बताए । जटिल र गम्भीर विषय भए पनि विषयवस्तुमा सन्तुलन ल्याउने प्रयास गरेको उनले बताए । संविधान निर्माणका क्रममा आफूले भोगेका जटिलतालाई पनि पुस्तकले कोट नै गरेर उल्लेख गरेकोले यथार्थ उल्लेख गरेको उनको दाबी थियो । संविधान जारी गर्नु भन्दा अघि नै भारतले धर्म निरपेक्षता हटाउन र फास्ट ट्याकको बारेमा नबोल्न आफूलाई दबाब दिएको उनले खुलासा गरे । त्यो समयमा नेपालका शीर्ष नेताले पनि भारतमा गएर राजनीतिक भेटवार्ता गरेको तर त्यहाँ के भयो त्यो खुलाउन चुनौती दिए । उनले भने, ‘नाकाबन्दी भारतले गर्यो भनेर किन भन्ने ?’ हाम्रै नेताहरुले नाकाबन्दी निम्त्याएको उनको दाबी थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुख तथा अतिथि सुभाषचन्द्र नेम्बाङ्गले पुस्तक उत्कृष्ट भए पनि केही कुरा यथार्थ भन्दा बाहिर रहेर लेखिएको बताए । नेपालको संविधान २०७२ लेखेर गल्ती गरेको, मधेस आन्दोलन नलेखेको भनेर आरोप लगाउने ठाउँ नभएको, मस्यौदाको विरोध गर्दै माघ ५ गते तोडफोड नभएको, मधेस केन्द्रित दलको राजिनामा चाहिँ स्वीकृत नगरेको तर बाबुराम भट्टराईको राजिनामा स्वीकृत गरेको भनेर आरोप लगाएको, ५ वर्ष ८ महिनामा बनेको संविधानलाई फास्ट ट्याकबाट आवश्यक विधि र परिधि मिचिएको भन्न नमिल्ने उनले उल्लेख गरे । उनले आगामी संस्करणमा ती कुराहरुलाई सच्च्याउन पनि आग्रह गरे ।

कार्यक्रमका अर्का अतिथि राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसको विषयमा तटस्थ भएर लेख्न सकेकोमा बधाइ तथा धन्यवाद दिए । केन्द्रले मधेसलाई हेर्ने दृष्टिकोण अहिले पनि उस्तै भएको भन्दै ठाकुरले पुस्तकले केन्द्रको मधेसप्रति हेर्ने दृष्टिकोणको व्याख्या गरेको बताए ।

संविधानले मधेसको विभेदलाई रोक्नुको सट्टा झन् संस्थागत गरेको ठाकुरले बताए । त्यो बेला सरकारले नै संविधानको उल्लङ्घन गरेको तर मुद्दा मधेसी र थारुलाई लगाइएको पनि आरोप लगाए । उनले भने, ‘मधेसमा अझै पनि विस्मय छ, राज्यको विपक्षमा आक्रोस छ यो कुनै दिन विस्फोट हुनसक्छ ।’ मधेसका मुद्दा सम्बोधन गर्ने अवसर राज्यलाई अझै पनि रहेको भन्दै यो पुस्तकले सरकारलाई थप दबाब दिने उल्लेख गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता तथा कार्यक्रमकी अतिथि मोहना अन्सारीले सर्वसाधारणले भोगेको विषय नै लेखकको पनि भोगाई र लेखाई भएको उल्लेख गरिन् । पुस्तकले मधेस आन्दोलनले उठाएका र समाधान नभएका विषयहरुको उठान गरेको उल्लेख गरिन् । यो पुस्तक मधेसमा बिक्ने हुने उनको दाबी थियो । पुस्तकले मधेसप्रति भएको अन्याय र थारु जातिको इतिहास र वास्तविकता उठाको उल्लेख गरिन् ।

कार्यक्रममा नेपालका वरिष्ठ पत्रकारहरु, राजनीतिज्ञ, साहित्यकारसहित करिब ५ सयको हाराहारीमा उपस्थिति रहेको थियो ।

Loading...