देशकै नमुना शान्ति सुरक्षा ब्यवस्थाको सुरुवात झापाबाट !

ट्राफिक/प्रहरी मुख्य समाचार विषेश समाचार

केशवराज भण्डारी, झापा, १९ भदौ, जिल्ला प्रहरी कार्यालय झापाले देशकै नमुना शान्ति सुरक्षा ब्यवस्थापनका लागि कार्यक्रम सञ्चालन गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी उक्त कार्यक्रम भाद्र २१ गतेबाट सुरु गरिने बताएका हुन् ।

झापा जिल्ला लगायत देशका विभिन्न जिल्लामा घटेका अपराधिक कृयाकलापलाई मध्यनजर गर्दै झापा जिल्लाबाट यो कार्यक्रमको सुरुवात गरिने भएको छ । विगत ६ महिना अघि काठमाण्डौको कानुन शाखाबाट झापा आएका एसपी ढकालले पहिलो पटक सञ्चारकर्मी भेटघाट कार्यक्रम आयोजना गरेका हुन् ।

यौनजन्य हिंसाका घटना जिल्लामा दिनानुदिन घटिरहेको सन्दर्भमा २ महिनाको अभियानलाई पाइलट योजनाको रुपमा सञ्चालन गरिने उनले बताए । सुदृढ शान्ति सुरक्षाका लागि ‘प्रारम्भिक सुरक्षा अभिमुखिकरण अभियान’ नाम दिएको सो अभियानबाट झापा जिल्लाका विशेष गरी नगदी कारोवारसँग र नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएका सरकारी कार्यालय ३ सय ३१, गैह्रसरकारी कार्यालय २ सय ६, बैँक १ सय ६०, वित्तिय संस्था ४०७, सुनचाँदी पसल ६ सय २१, डिपार्टमेन्ट स्टोर १७, उद्योग कल कारखाना १ सय २१, प्रतिष्ठान ५८, शैक्षिक संस्था ५ सय ६३ प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ । जसले गर्दा यी निकायहरु र प्रहरीबीच बलियो समन्वय र सहकार्य भइ जिल्लाको शान्ति सुरक्षा र अमन चयन राम्रोसँग लागु हुने बिश्वास लिइएको छ ।

यो कार्यक्रम अन्तर्गत सुरक्षा गार्डको योग्यता, दक्षता बुझ्ने तथा प्रतिनिधिमूलक रुपमा करिब १ हजार जनालाई प्रारम्भिक सुरक्षा तालिम प्रदान गरिने साथै सम्पूर्ण निकायका प्रतिनिधि र स्थानीय निकायका प्रमुख तथा उपप्रमुखलाई सुरक्षा पुरा गर्न प्रारम्भिक मापदण्ड बारे छलफल तथा अन्तरक्रिया गर्ने जनाइएको छ । कार्यक्रम सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय र ७ वटा इलाका प्रहरी कार्यालयमा ब्यवस्था मिलाइने जनाइएको छ । तालिम सञ्चालनका लागि ११ जना तालिम प्राप्त प्रहरी अधिकृत खटाइने र यस्ता निकायहरुसँग सुरक्षा समन्वय गर्न जिल्ला प्रहरी कार्यालयमा छुट्टै सुरक्षा समन्वय डेस्कको स्थापना गर्ने एसएसपी ढकालले जानकारी दिए ।

Loading...