सुन्दरीजलको प्रवेश शिवपुरीको निकास

मुख्य समाचार विचार साहित्य

– जसध्वज गुरुङ
२०७३ पौष १ गते पहिलो शुक्रबार पुरानो बसपार्क पुगियो । बिहानको ७.१५ बजे सार्बजनिक बस चढ्यौं । सुन्दरीजलको लागि पर्यटनबोर्ड, पुतलीसडक, ज्ञानेश्वर, गौशाला, बौद्ध, जोरपाटी हुँदै बढ्यौं । मंसिरको पहिलो शुक्रबार लाँकुरी भञ्ज्याङ जानेक्रममा स्रष्टा पदयात्री आपसमा परिचय भई सकेको थियो ।

स्रष्टा पदयात्राको नामले चिनिने यो समुहमा साहित्यिक क्षेत्रलाई माया गर्ने नयाँ पुराना श्रष्टाहरूकै जमात रहेको थियो । उपत्यकामा हुने विभिन्न साहित्यिक कार्यक्रमा सहभागिता जनाउने तथा साहित्यिक संस्थाहरूमा आवद्ध व्यक्तित्वहरू बीच भएको भेटघाट तथा छलफल र सल्लाहले जन्माएको संस्था हो यो । स्रष्टाहरूको स्वस्थ शारीरिक तन्दुरुस्ती, मानसिकरूपमा स्वच्छ पवित्र भावना तथा मस्तिष्कले मात्र नयाँ उर्जा दिन सक्ने मान्यता अनुरुप सर्व स्वीकार्य स्रष्टा पदयात्राले महत्वपूर्ण निर्णय सलन पुगेको थियो । हाललाई काठमाडौं उपत्यका स्थित ऐतिहासिक पुरातात्विक महत्वका धार्मिक सांस्कृतिक धरोहर पर्यटकीय क्षेत्र, सामाजिक महत्वका स्थानहरू जहाँ एकैदिनमा घुमेर बेलुका घरमा बास बस्न पुगियोस् भन्ने मूल उदेश्य रहेको तत्कालीक कार्यक्रम हो भने चिन्दा पनि हुन्छ यसलाई ।

स्रष्टाहरू शीतलजीका फेसबुक म्यासेजको आधारमा गन्तब्य समातेका थियौं राजधानीको सडक जाम, यात्रुको खचाखच अनि थोत्रो बसको हुँइक्याई । अव्यवस्थित सहर मापदण्ड मिचेर बनाइएका बिल्डिङहरू । उकुसमुकुसमा कहाँ पुगियो भनेर पनि थाहा हुन्न । गोकर्णेश्वर महादेवको साइनबोर्ड देखियो । भक्तजनको दर्शनभेटबाट अलग्गै थिए गोकर्णेश्वर । घल्ट्याक घुल्टुक गर्दै बस बढ्दै गर्दा दायाँपट्टि बीपी सङ्ग्रहालय लेखिएको सडक तन्किएको देखें । काठमाडौंबाट १२ कि.मि. दुरीमा रहेको सुन्दरीजलको जेलको क्षेत्रफल चौतीस रोपनी तीन आना भनेर कहाँ पढेथें । बीपी सङ्ग्रहालय २०७२ को भूकम्पले तहसनहस पारेको कुरा सञ्चार माध्यममा हेरियो, पढियो ।

२०१७ सालमा राजा महेन्द्रले निर्दलीय पञ्चायती शासन व्यवस्था लागू गरी लोकतन्त्रको हिमायती प्रधानमंत्री बीपी कोइराला लगायतका कैयौं नेताहरूलाई बन्दी जीवन विताउन बाध्य पारिएको उही सुन्दरीजल भएर हाम्रो यात्रा बढदै थियो । बीपीले जेलजीवनमै चर्चित पुस्तकहरू लेखेर साहित्यमार्फत आफूलाई सधैं अग्रपङ्तिमा उभ्याएको कुरा मामस्तिष्कमा खेल्दै गर्दा बस ध्याच्च रोकियो । सुन्दरीजल बसपार्क पुगिएछ । यात्रुहरूसंगै हामी पनि ओल्यौं ।

साथीहरू जय छाङछा, श्रीओम श्रेष्ठ ‘रोदन’, डा.भक्त राई, लीलाराज दाहाल, डिल्लीरमण सुवेदी, शीतल गिरी, डिल्लीराज अर्याल र म (कलमी) भेट भयौं । आपसी औपचारिकता चिया नास्ता त्यहाँको एउटा होटलमा खायौं । डिल्लीराज अर्यालजीले आमाको आशौच बारेकोले केही खाएनन् । आफै ल्याएका केही खाए जस्तो लाग्यो ।

‘मान्छे खेद्ने अगाडिबाट’ को उखान बक्दै बाटो लाग्यौं । बागमती वारिपारिको प्राकृतिक सौन्दर्यको रसास्वादन लिदै गर्दा अर्कातिर फलामे पाइपलाई दुइहातको अँगालो हाल्दा करिब आधा फुट खाम नपुगेको अनुमान गरें । धेरैको धेरै मापले पनि काम गरेन । चन्द्रशमशेर राणाको पालामा काठमाडौंवासीलाई खाने पानीको ब्यवस्था गरिएको थियो । ती ठूला ठूला पाइपहरू तत्कालीन इष्ट इण्डिया कम्पनी वृटिशकालीन भारतको सौजन्य सहयोग हुनु पर्छ भन्ने ठम्याई रह्यो ।

यतिकैमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज सुन्दरीजलको गेटैमा पुगियो । निकुञ्ज प्रवेशका लागि कर सहित रु. ५६.५० पैसा जनही ति¥यौं । तीनजना पत्रकारहरूो शुल्क परेन । काउन्टरका कर्मचारीलाई केही जिज्ञासा राख्यौं, अपेक्षाकृत उत्तर मिलेन । ‘सुन्दरी जलको प्रवेश शिवपुरीको निकास’ ले औपचारिकता पाइसकेको थियो । साना तिना गमलामा फुलाएका लालुपाते तथा अन्य फूलहरूको फक्राइमा दृष्टि बिसाउँदै बढ्यौं । वागमती नदीको बढेमाको ढुंगाबीचबाट झरना हामफाली रहेको थियो । जङ्गलकै मुखबाट स्यालमती पनि म के कम भन्दै ढुङ्गे झरनाबाट फाल हान्दै वागमती छुन तम्सिरहेकी थिइन् । दायाँ वागमती बाँया स्यालमती बीचका बाटै छेउमा झरनालाई साइड दिदै पोज पोजका स्न्यापहरू लिइयो ।

जङ्गल प्रवेशसंगै श्रीओमजी र शीतलजीलाई भर अभरमा टेक्ने लाठी निकुञ्जको नियमको परिधिमा रहेर बनाई दिए । बाटो उकालो र चुडके गफले आर्मी ब्यारेकमा पुगेको पतै भएन । लीलाजीलाई एकजना परिचित सिपाही (बागमती मा.बी. सर्लाहीमा पढाउँदा ताकाको विद्यार्थी)ले चिया, चाउचाउको प्रस्तावले स्वागत गरे । धन्यवादले मेटो मारे उनले। कोही टुसुक्क बसे भने कोही फोटो खिच्न थाले । यतिकैमा पछिका साथीहरू पनि उकालो हेर्दै आइपुगे । जय छाङछाजी नियात्राका लागि चाहिने मसला टिप्दै अघि बढे । ब्यारेकले तेस्रो बाटो देखायो । फाट्टफुट्ट मान्छेको छनक र बोलीचालीले गाउँ नजिकै पुगेको सङ्केत दिन्थ्यो । अलि टाढा पुगेका साथीले पात बजाएर वा सुसेलेर अवस्थाको जानकारी दिन्थे । नत्र जङ्गलै थर्किने आवाज दिनु पनि पाच्य लाग्थ्यो । पशुपक्षी रहे भएको सङ्केत पटक्कै मिलेन यो यात्रामा । उहिले गोठालो गएको स्मरण पातको भाकाले हाल्दै आनन्दित मन गरेर एक अर्कालाई अघि बढ्ने हौसला प्रदानलाई पनि एक अर्थमा ठीक लागेको थियो । कहाँ कहाँ जन्मेर यो ठाउँमा भेट हुनुले छुट्टै संसारमा पुगेजस्तो लाग्दै थियो । उत्तर पूर्वपट्टि खुल्ला देखियो । निलो पानी परसम्म जमेको दहले खानेपानीको ड्याममा आइपुगियो भन्ने भयो । ड्यामको पुलमा साथीहरू भेला भयौं र सामुहिक फोटो खिच्यौं । क्रमशः अघि बढेदै जाँदा स्कूले केटाकेटीहरू तल झर्दै थिए । एक दुइवटा घर देखियो । तेर्सोबाटो काटेर भुँइतले घरतिर लाग्यौं । घरवाला तामाङ रहेछन् । अघिको बाटोमा फक्यौं र बाँयापट्टि तेर्सो समात्यौं ।

विस्तारै बाटो जङ्गल भित्रियो । मार्ग माथि तल भएकाले असमञ्जसमा पुगियो । डा.भक्तजी, जय छाङाले सैनिक ब्यारेकमा जानकारी लिएका थिए । तल्लो बाटो समातेर सानो खोल्सी पारीबाट दम्स्याइलो ृकालो लागियो । सडक मोटरेबल थियो । डोजरले ठाँउ ठाँउ कोट्याए जस्तो गरी समउाएको देखियो एकैजना मान्छे हिंडेजस्तो लाग्दैनथ्यो । वर्षको एकपटक डोजरायनमः बजेट झ्वाम्म नगद नारायणनमः चाहि पक्कै हो भन्ने लाग्थ्यो । कतै कतै बँदेलले गड्यौला खोजी उधिनेको भेटियो ।

साथीहरूसँगको दूरी लामो नराख्ने भन्ने आपसी सहमति थियो । डिल्लीराज अर्यालजी र म कबि भारबीको कविता र जीवनका उतारचढावको पुरानो कथा सुनाउने सुन्ने क्रमले बाटो छोट्याउँदै जादै थियौं । बेलाबेला एकान्तपनलाई आवाजको लोलीले चिर्दै साथीहरूलाई आफू पुगेको स्थानको जानकारी दिन्थे । रुखको छायाँभित्र सूर्यको किरणले मध्यान्ह भएको जनाउन देखा परे झैंं लाग्थ्यो । दुइ तीनको टुकुडीमा विभाजित श्रष्टाहरू अनुभव र हनुभूतिको अन्तरकृयामा लागेर बाटोलाई भुलाउदै थिए भनि थाकेको शरीरमा पेन किलरको प्रभाव हाल्दै थिए । तेस्रो बाटोले जङ्गल छोड्न लाग्दा बाइकमा आएका युवायुवतीले बाटोको स्थिति सोधेर औपचारिकता निभाए झैं लाग्यो ।

कलकल बग्दै बाटोलाई नाघेर झरेको सङ्लो पानी पछाडि छोडियो । जङ्गलको मुख काटे पछि उपत्यकाको अव्यवस्थित सहरतर्फ दृष्टि दौडिए । खुल्ला आकाशले स्वतन्त्रताको पखेटा खोलेको अन्तरमनभित्र महसुस भयो । पछिका साथीहरू पनि अघि पछि गर्दै भेला भयौं । सहज स्थानमा लञ्च गर्ने भइयो । यात्राको निरन्तरतासँगै पाखा पखेरामा टाँसिएका स–साना घर देखिन्थे । विकासले आँखा देख्न नपाएको काठमाडौंका अंशियार क्षेत्र । तामाङ जातिहरूको वाहुल्य रहेको क्षेत्र जहाँ मकै, कोदो पाखे बाली र आफूलाई चाहिने थोरै सागसब्जीको खेती र अधिकांस जग्गा खेतीविहीन देखिन्थे ।

उपयुक्त चउर भेटिएकोले लञ्च लिने भयौं । त्यो तारेभीर गाउँमा पर्दो रहेछ । चउरमुनि पातलो घर थियो । दाउरा घाँस गर्ने दुइ महिला नाम्लो र हँसिया हातमा हल्लाउदै आए । यता साथीहरू आफू–आफूले ल्याएको ड्राइ फूड निकालेर बाँडन लाग्दै थिए श्रीओम, जय, भक्तजी कसले बाघको दूध (लोकल ठर्रा) पाइन्छ ? भनेर प्रश्न गरे । मागलाई ?बुझनीमा नभए पनि सुझनीमा″ भने जस्तो तुरुन्तै एक माना दारु ल्याइदिए । यता रोटी, परौठा, चना, आलु, भुजिया, फ्राइराइस, अचार, स्याउ, केरा, फ्रुटी तथा चकलेटसँगै भरखरै ल्याइपु¥याएको ठर्रा । ती महिलाहरू नातामा भाउजु नन्द नेवार जाति रहेछन् । उनीहरूलाई पनि फलफूल र खाजा दिन लाग्दा अस्वीकार गर्न खोजे त्यो लाजले थियो । यो लाज माजमा नजानदो सारभएर बाचेको पाउछौं हामी । साथीहरूले ठाडो घाँटी लगाउदै मूल्य तिरे । फिर्ता रकम ठट्यौलीको सुअवसरलाई कर तिरे झैं गरी चित्त बुझाए ।

लञ्च पछिको फोहोर सबै उठाएर प्लाष्टिकको झोलामा राखी तरनिय लगायौं । अब पालो श्रष्टामा सिर्जना सुन्ने थियो । पालै पालो कविता मुक्तक तथा गीत सुन्यौं गडगडाहट तालीले हौसला बढाउदै कार्यक्रम समाप्त भएको घोषणा शीतल गिरीले गरे । फोटो सेसन चल्यो ।

बेलुकी ५ बजेतिर शिबपुरी ब्यारेक पुग्ने योजना अनुरुप त्यहाँबाट पाइला अघि बढायौं । देश विदेश भ्रमण र आफ्नो जन्मस्थलको धर्म जातीय संस्कार बारे एकपछि अर्को जानकारि मिल्थ्यो । व्यक्तिगत भनाइ सामुहिक अन्तर्कृयाले चेतनाको स्तर स्वतः बढेको अनुभूति हुन्थ्यो ।

उता तारेभीरले २०७२ को भूकम्प पछि त्राहीमाम बनाएको थियो, स्थानीय जनतालाई । वर्षादको समयमा ढुंगा लडेर संकट निम्तिदै गरेको अखबारमा उल्लेख भएको थियो । गाउँ नै अन्त सार्नु पर्ने चर्चा पनि नभएको होइन । तात्लेजुङ दोखु ८ खोप्रै पहाड घर माथिको रमित भीरलाई सम्झे । त्यो भीरको इतिहासमा भूकम्पले गाउँवासीको क्षति पु¥याएको छैन । अघि बढने क्रममा आर्मीको चेकपोष्ट भेटियो । अनीहरूले टिकट खोजे । शीतलजीसँग टिकट थियो । हामीले परिचय दिए पछि अघि बढने अनुमति मिल्यो । अलिपरपुगे पछि डा.भक्त र डिल्लीरमणजी बाटो माथिको आनी गुम्बा दर्शन गर्न जाने भए । हामी सोझै अघि बढ्यौ । शिवपुरीको जङ्गल सैनिक ब्यारेक मूल सडक नगइ चोरबाटो झर्ने भइयो ।

द्विविधा उत्पन्न भयो केही समय साथीहरूलाई पख्यौं । फेरि जे त होला भनेर अघि बढ्यौं । २०३५ सालमा रानी ऐश्वर्यको जन्मोत्सवको अवसरमा नेपाल प्रहरीले सदर प्रहरी तालिम केन्द्रले भव्यरूपमा कार्यक्रम सहितको शुभजन्मोत्सव मनाउने गरेको थियो । गेट तथा कार्यक्रम स्थल सजाउन जुनियर प्रहरी अधिकृत छत्तीसौं टोलीका तालिमेहरू उही जङ्गलमा झ्याउ टिप्न आएको कुरा डिल्लीराज अर्यालजीलाई सुनाए । ठाडो बाटोले घुम्तिलाई छोट्यायो । हामी ब्यारेकमा पुगेर साथीहरूलाई पख्यौं । अरू आइपुगे आनी गुम्वा जाने आइपुगेनन् । फोनमा कुरा गर्दा बागद्वार जाने बाटोको दायाँबाट हामी र बायाँबाट उनीहरू झरेकाले. फरक परेछ । हामी भन्दा तल झरी सकेछन् उनीहरू । तत्पश्चात बूढानिदकण्ठमा बस चढने गरी बाटो लाग्यौं । पहिरोले ल्याएको लेदो हो कि बाटो छुट्याउन कठिन थियो । चिलिदै ठोक्किदै, नारायणथान पुगियो पछि पछि डिल्लीराज अर्याल र न्य साथीहरू पनि आइपुगे । सबैजना आ–आफ्नो दर्गदिशा लाग्यौं । सास्ती त शिवपुरी ब्यारेकदेखि नारायणथानसम्मले बढी दियो । अर्को पदयात्रामा भेट्ने सङ्कल्पका साथ छुट्यौं ।

Loading...