डा. सिटौलाको ‘देश र परिवेश’ कविता–सङ्ग्रह विमोचन

मुख्य समाचार साहित्य

काठमाडौँ, १६ भदौ, डा. सुरेन्द्र सिटौलाको कविता–सङ्ग्रह ‘देश र परिवेश’ आज विमोचन गरिएको छ । राजधानीमा शनिबार आयोजित एक कार्यक्रमकाबीच प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठनका कुलपति गंगाप्रसाद उप्रेतीले सङ्ग्रहको विमोचन गरेका हुन् । कार्यक्रमको आयोजना बागमती बोर्डिङ्ग स्कुल, सुकेधारा, काठमाडौँले गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि उप्रेतीले सङ्ग्रहमा समावेश भएका कविताहरूले कवि डा. सिटौलाले आफ्नो पेशागत कार्यकालमा अनुभव गरेका देशका सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक एवं शैक्षिक विकृतिहरूको चित्रण गरेको बताए । कवि डा. सिटौलाले सङ्ग्रहमा समाजमा देखिएका देश–कालमा भोगेका कुरालाई कवितामा उतारेको उनले बताए । सङ्ग्रहका बारेमा साहित्यकार अशेष मल्ल, प्रा.डा. बद्रीविशाल भट्टराई र सञ्चारकर्मी रमेश खड्काले संक्षिप्त समीक्षा गरेका थिए ।

कविता–सङ्ग्रहको भूमिका राष्ट्रकवि माधव प्रसाद घिमिरेले लेखेका छन् । यस सङ्ग्रहका कविताहरूमा सिटौलाले सुस्पष्ट र हृदयस्पर्शी शैलीमा देशलाई सचेत गराइरहेका छन् । देश, समाज, इतिहास, राजनीति, शिक्षा, दर्शन जस्ता विभिन्न विषय र समकालीन नेपालको अवस्थालाई समेट्ने ५२ वटा कविताहरू यस सङ्ग्रहमा रहेका छन् । सङ्ग्रहमा समावेश भएका कविताहरूले नेपालको इतिहासदेखि वर्तमानसम्मका विभिन्न सवालहरूलाई समेटेका छन् । सबै कविताहरूको केन्द्रविन्दुमा देश र समाजको चित्र प्रस्तुत गरिएको छ । लामो समयसम्म विज्ञानको प्राध्यापन र शिक्षाको क्षेत्रमा लामो समयदेखि संलग्न डा. सिटौलाका फुटकर कविताहरू धेरै प्रकाशन भए पनि सङ्ग्रहका रूपमा यो पहिलो प्रकाशन हो ।

आजको लोकार्पण कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्ति तथा व्यक्तित्वहरू सहभागी हुनुहुन्थ्यो । यस कविता–सङ्ग्रहमा धेरै कविताहरू राष्ट्र र राष्ट्रियता, स्वतन्त्रता, खुशी, सपना, इतिहास, पहिचान, आप्रवासन, शिक्षा, चुनाव, लैंगिकता, यात्रा, युद्धलगायतका विषयहरूमा लेखिएका कविताहरू संलग्न छन् । देश, हारेको शहीद र म, भाग्य, पुरुषार्थ र जाँगर, पृथ्वीनारायण कतै फर्किसके, अब मैले यहाँ बस्नु हुँदैन, नेताको धर्म, शहीद रोएको विहान, म एउटी आमा खोज्दैछु, सुख र शान्तिको मृगतृष्णा, बुद्ध जयन्ती र म, म नयाँ नेपाली भएको छु, चुनाव, म अमेरिकी हुँ, मैले नजानी पढाएँ, कर्मको यौवन, मलाई हार्न मन लाग्छ यस सङ्ग्रहका केही प्रतिनिधि कविताहरू हुन् ।

कवि सिटौलाको परिचय
डा. सिटौला पेशाले प्राध्यापन गर्छन् । अमृत साईन्स क्याम्पसमा ३७ वर्ष लामो प्राध्यापन र झण्डै तीन दशक बागमती बोर्डिङ्ग स्कुलका सञ्चालकको रूपमा काम गरेका सिटौलाको साहित्यिक संलग्नता पनि पुरानो हो । ताप्लेजुङको निघुरादिन गाउँबाट प्राथमिक शिक्षा हासिल गर्दै धरान, विराटनगर र काठमाडौँबाट उनको कलेजको अध्ययन भयो । अध्ययनको कामलाई निरन्तरता दिँदै उनले जैविक विविधतामा विद्यावारिधि गरेका छन् । यसरी हेर्दा डा. सिटौलाको जीवनमा विज्ञान, शिक्षा र साहित्यको मिश्रण पाइन्छ । विद्यालय तथा विश्वविद्यालयका कविता प्रतियोगितामा सिटौलाका धेरै कविताहरू पुरस्कृत भएका थिए । लामो समयदेखि शिक्षण पेशामा संलग्न भएपनि काव्य सिर्जनाको उनको बाटो बन्द भएको छैन । देश, काल र परिस्थितिको नाममा लेखिएका यी कविताहरूले समकालीन नेपालको चित्र प्रस्तुत गरेका छन् ।

Loading...