[ कविता ] काठमाडौँ आफैँमा गाईजात्रा !

साहित्य

–  निर्मल खनाल

हाम्रो काठमाडौँ
राम्रो काठमाडौँ
यहाँ हरेक दिन हुने जात्रा : हिले जात्रा
बुढो गोरुजस्ता बसहरु,
हलीजस्ता टेप्पोहरु,
रोपाहारजस्ता मान्छेहरु
अनि
करङ भाँचिएको छाताजस्ता घरहरु ।
अनौठो केही हुन्न दिन–दिन
चोक–चोकमा लाखेमात्र होइन
करोडे देखाउनेहरु
जात्रामा सामेल हुन तँछाड–मछाड गर्छन्
नौटङ्की चोक–चोकमा हुन्छ
त्यसको तपाईं पनि एउटा पात्र हो
हो, काठमाडौँ आफैँमा गाईजात्रा हो ।

आफ्नो देशको संस्कृति झल्काउन होस्,
या विदेशी मन पल्काउन होस्
या त आफ्नो युट्युवको टुप्पो टल्काउन होस्
आफ्नो–आफ्नो जात्रा हुन्छ यस हाँडीगाउँमा ।
असी लाख आबादी छ,
तर एक करोड पात्र
कोही नाङ्गिन्छन्, कोही उदाङ्गिन्छन्
खप्ने खप्छन्, नसक्ने मर्छन्
दैनिक जीवनको लाइभ चलचित्र देखाउने एक मात्र सहर
जसको न सुरु हेर्नुपर्छ न अन्त्य
भन्नेले भन्छन् यो अभद्र भो
हो, काठमाडौँ आफैँमा गाईजात्रा हो ।

निरङ्कुशता हटेको सत्ता,
दुई तिहाईको सरकार
कहिले बेहुली बनाउँछ यै नगरी
देख्दा लाग्छ : पल्ला च्यातिएपछि खोल लगाइएको सिरक
न त दिगो बन्छ, न राम्रो भन्छ कसैले
विमस्टेकजस्ता मिस्टेकका मिटिङ्ग हुन्छन्
तर बाटोको डङ्गुर छोपेर
उठाउनेजस्तो मिस्टेक कसैले गर्दैन ।
जनता नाक थुन्छ,
स्थानीय सरकार कान थुन्छ
अनि, केन्द्रीय सरकार आँखा ।
देख्नेले भन्छ, सुन्नेले सुन्दैन
अनि दबाब लिनेले आँखै देख्दैन
यो एक ठाउँमा होइन सर्वत्र हो
हो, काठमाडौँ आफैँमा गाईजात्रा हो ।

कहिले बलात्कार काण्ड हुन्छ
कहिले हत्याकाण्ड
र कहिले करकाण्ड
घरबारीको करदेखि लिएर
पालेको टुप्पीसम्मको कर
एउटा चौपायाले दुई साँझ दूध दिन्छ
तर तीन साँझको दूध कर तिर्नुपर्छ ।
लाग्छ अब त,
यही हिलेजात्रामा लागेको हिलो पखाल्दा पनि कर लाग्छ
घर पालुवा गाई आफैँमा ठूलो पात्र भो
हो, काठमाडौँ आफैँमा गाईजात्रा हो ।

Loading...