तीन वर्षसम्म लोकसेवा नखुल्ने !

आजका पत्रपत्रिका

काठमाडौँ, ३० साउन, स्थानीय तह र प्रदेशमा कर्मचारी पदपूर्ति गर्न नसकिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट हुने सबै खाले पदपूर्ति रोक्ने तयारी गरेको छ । तीन वर्षसम्म लोकसेवाबाट लिइने खुला र आन्तरिक पदपूर्ति रोक्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारीमा मन्त्रालय लागेको हो ।

स्थानीय तह र प्रदेशमा कुन–कुन पदमा कति कर्मचारी चाहिने हो ? टुङ्गो नलागेसम्म कर्मचारी भर्ना प्रक्रिया रोक्नु पर्ने मन्त्रालयका सचिव दिनेश थपलियाले बताए ।

यता लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले भने कर्मचारीको सबै पदपूर्ति बन्द गर्नेबारे कुनै जानकारी नभएको जानकारी गराए । उनले भने, ”मन्त्रालयले लोकसेवा आयोगसँग यसबारे कुनै राय पनि मागेको छैन । तर, तीन वर्ष पदपूर्ति रोक्न लागेको हो भने त्यो राम्रो होइन । हरेक वर्ष तीन लाख मान्छे लोकसेवाको तयारीमा हुन्छन्, तिनीहरुको मनस्थितिमा गम्भीर असर पर्छ ।”

मन्त्रालयको यो कदमबाट कर्मचारी पनि सशंकित भएका छन् । पदपूर्ति रोकिँदा कर्मचारीको वृत्तिविकासमा गम्भीर असर पर्नुका साथै हरेक वर्ष निजामती सेवामा प्रवेश गर्ने युवाहरुका लागि अवसर बन्द हुने उनीहरूले चिन्ता गरेका छन् । मंगलबार विभिन्न मन्त्रालयमा कार्यरत उपसचिव र अधिकृत तहका कर्मचारीले मन्त्री लालबाबु पण्डित र सचिव दिनेशकुमार थपलियालाई भेटेर सचेतसमेत गराएको आजको नयाँ पत्रिकाले लेखेको छ ।

Loading...