डायास्पोरिक साहित्यका दुई स्रष्टा सम्मानित

साहित्य

काठमाडौँ, ८ साउन, डायास्पोरिक साहित्यमा लामो समयदेखि योगदान गर्दै आएका स्रष्टाहरु गोविन्द गिरी ‘प्रेरणा’ र ज्ञानेन्द्र गलादलाई काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच सम्मान गरिएको छ । नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रले नेपाली भाषा, साहित्य र संस्कृतिको श्रीवृद्धिमा डायास्पोरिक साहित्यको माध्यमबाट महत्वपूर्ण योगदान गरेको भन्दै दुई स्रष्टालाई मंगलबार आफ्नै कार्यालयमा सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले दुबै स्रष्टालाई खादा र मायाको चिनो प्रदान गरेका थिए । सम्मान अर्पणपछि बोल्दै प्रमुख अतिथि भट्टराईले गिरी र गदालले अमेरिकामा बसेर पनि नेपाली साहित्यमा गरेको योगदान अतुलनिय भएको उल्लेख गरे । उनले डायास्पोराको उचित अध्ययन अहिले पनि नभइरहेको बताउँदै डायास्पोराले दुई भूगोललाई बोक्ने भएकोले त्यो छुटाउन नहुने सुझाव पनि दिए । कतिपयले डायास्पोरालाई प्रवासीको संज्ञा पनि दिने गरेको भन्दै भट्टराईले त्यसो भन्नु सरासर गलत भएको दाबी गरे ।

सम्मान ग्रहणपछि गीतकार तथा साहित्यकार स्रष्टा गदालले आफू अमेरिकामा बस्नुको कारण बताउँदै त्यहाँ रहँदा बस्दा पनि नेपाली साहित्यमै लागिपरेको उल्लेख गरे । उनले अङ्ग्रेजी भाषामा लेख्नु भन्दा नेपाली भाषामा नै आनन्द आउने र सहज हुने बताए । माटोको मायाले पनि नेपाली साहित्यबाट टाढा जान नदिएकोले अमेरिकामा साहित्यिक गतिविधिमा सक्रिय रहेको उनले बताए । अमेरिका वा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न साहित्यिक संस्था भए पनि गलत र फरक सोच भएका व्यक्तिका कारण उचित ढंगले साहित्यिक गतिविधि गर्न नसकिरहेको दुखेसो गरे ।

अर्का स्रष्टा गोविन्द गिरी प्रेरणाले अमेरिका जानु अघि नेपालमा रहँदा, बस्दा गरेका क्रियाकलापहरुको स्मरण गर्दै साहित्यप्रतिको लगावलाई अमेरिका गएर पनि निरन्तरता दिएको उल्लेख गरे । उनले अमेरिकामा नेपाली साहित्यको वर्तमान अवस्था र सम्भाव्यताका बारेमा पनि बोलेका थिए । उनले आफूले अमेरिकामै बसेर गरेको कामलाई महत्व दिएर योगदान मानिदिएकोमा खुसी लागेको उल्लेख गरे ।

लोकवार्ता परिषद् नेपालका अध्यक्ष प्रा.डा. प्रेमकुमार खत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा साहित्यकार, प्राध्यापक डा. ध्रुव भट्टराई, वरिष्ठ गीतकार शुभ मुकारुङ, साहित्यकार हरि गौतम, संस्कृति अध्येता संगीता पौडेल, केन्द्रका सचिव तथा अनुसन्धाता पुरण राई, पत्रकार डिल्लीरमण सुवेदी, केन्द्रका अध्यक्ष डा. भक्त राई लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

केन्द्रले नेपाली भाषा, साहित्य, संस्कृति र दर्शनको क्षेत्रमा डायस्पोरा तथा नेपालमै रहेर अध्ययन, अनुसन्धान, लेखन तथा प्रकाशनमा सक्रिय व्यक्ति तथा संघ संस्थाहरुलाई नियमित रुपमा सम्मान गर्दै आइरहेको छ ।

Loading...