प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउने नयाँ शक्ति विद्यार्थी युनियनका महासचिवसहित दर्जन पक्राउ

राजनीति

काठमाडौँ, ३ साउन, शान्तिपूर्ण प्रदर्शनमा नयाँ शक्ति विद्यार्थी युनियनमा महासचिव सहितका नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालोझण्डा देखाउने क्रममा नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय महासचिव नेत्र चापागाई, सचिव रेशम सापकोटा, सदस्य नरेन्द्र बस्याल, ४ नम्बर प्रदेश सचिव संगीत लामिछाने लगायतका नेता कार्यकर्ता पक्राउ परेका हुन् ।

नयाँ शक्ति विद्यार्थी युनियनले पक्राउ गरिएका संगठनका सबैलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ । संगठनको प्रवक्ता ओम महतोको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ “सार्वभौम नेपाली जनताको स्वतन्त्रतापूर्वक भेला हुने, विरोध गर्न पाउने हक अधिकारको विपरित केपी ओली सरकारले अधिनायकवादी शैलीमा शान्तिपूर्ण रुपमा प्रदर्शनमा उत्रिएका हाम्रा संगठनका साथीहरुलाई प्रहरीले प्रदेश सभाको कार्यालय, पोखराबाट धरपकड गरी अपहरणशैलीमा गिरफ्तार गरिएको घटनाको घोर निन्दा गर्दै, गिरफ्तार गरिएका साथीहरुलाई तत्काल रिहा गर्न संगठन जोडदार माग गर्दछ । हाम्रो माग सुनुवाई नगरिए कडा संघर्षमा उत्रिने चेतावनी यसै विज्ञप्तिबाट जानकारी गराउछौं ।”