प्रधानमन्त्री ओलीको कविता, ‘मरेपछि पनि सपना देख्न पाउँ’

साहित्य

काठमाडौँ, ३१ असार, प्रधानमन्त्री केपी शर्मा ओली सपना देख्न र देखिरहन चाहने व्यक्ति हुन् । प्रधानमन्त्री भएलगत्तै ओलीले देखेका सपना आजका मितिसम्म पनि भाइरल, ट्रोल र चर्चाका विषय बनिरहेका छन् । ओलीका हावाबाट विजुली निकाल्ने सपना, घरघरमा पाइपलाईबाट ग्यास वितरण गर्ने सपना, काठमाडौँ र देशभर रेल कुदाउने सपना, नेपालको आफ्नै झण्डावाला पानीजहाज कुदाउने सपनाले यथार्थमा भन्दा धेरै सामाजिक सञ्जालमा ट्रोल बनेर ख्याती कमाएका छन् ।

आली सपना देख्छन् र देखिरहन्छन् । उनले देख्ने सपनामा सत्यता कति छ त्यो त जनताले थाहा पाउन सकेका छैनन् तर उनका सपना भने राम्रैसँग थाहा पाएका छन् । ती सपनालाई पत्याउनेको संख्या पनि ठूलै छ भने उडाउनेको संख्या त झन् ठूलो छ ।

काठमाडौँका धारामा पानी आउँदैन, आजैका मितिमा पनि काठमाडौँका सडकबाट फोहर उठ्न सकेको छैन, काठमाडौँका सडकमा दिनभर हुने जाम हट्न सकेको छैन, सडकमा डुङ्डुङती धुलो उडिरहेको छ, पानी पर्दा हिलोमा गाडिनु पर्ने अवस्था छ । तर यथार्थ छोडेर ठूला-ठूला सपना बढ्दा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति ब्यङ्ग्य वाण हान्ने क्रम जारी छ ।

प्रधानमन्त्री ओलीले आज २०७५ असार ३१ गते चन्द्रागिरी पुगेर एउटा कविता रचना गरेका छन् । योसँगै उनको साहित्यिक छवि पनि देखिएको छ । उनले रचना गरेको कवितामार्फत ‘मरेपछि पनि सपना देख्न पाउँ’ भनेका छन् ।

उनले रचना गरेको कविता यस्तो छः
परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र !
बाँचुन्जेल हो जिन्दगी मर्नु त छँदैछ ।
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ ।
सगरमाथा, लुम्बिनी, मेची, महाकाली
हाम्रा लह–लह खेत, बारी, झपक्क कान्ला र आली
सपनामा भए पनि देख्न पाउँ
चन्द्रागिरीको डाँडामा आएर सपनामा
भावी सन्तती मुस्कुराएको देख्न पाउँ
तिनको हँसिलो मुहारको तस्वीर खिच्न पाउँ
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ ।
चन्द्रागिरी
मितिः २०७५।३।३१

Loading...