१८ वर्षपछि राजविराज विमानस्थलबाट उड्यो विमान ! (फोटो फिचर)

पर्यटन

कृष्ण मण्डल, राजविराज (सप्तरी), वर्षौदेखि बन्द रहेको राजविराज विमानस्थल आज आइतबारदेखि नियमित रुपमा सञ्चालनमा आएको छ । २०१६ सालमा तत्कालीन यातायात मन्त्री स्व.गणेशमान सिंहबाट उद्घाटन भए पनि वि.स. २०५५ सालमा मात्र राजविराज नागरिक उड्डयन कार्यालय स्थापना भएको थियो । ०५४ र ०५७ सालमा केही समय सञ्चालनमा आए पनि धेरै समय नियमित उडान हुन सकेन । उड्डयनका कर्मचारीका अनुसार नियमित यात्रु नहुने, कच्ची धावनमार्ग र दक्ष प्राविधिक समस्याका कारण विमान सेवा बन्द भएको थियो ।

 

अब भने मंगलबार र शनिबार बाहेक हप्ताको ५ दिन ‘९ एनएएमए’ नम्बरको श्री एयरलाइन्सले नियमित उडान भर्ने भएको छ । काठमाडौंदेखि राजविराज १ः१० बजे र राजविराजदेखि काठमाडौं २ः१० बजे उडान भर्ने भएको छ । विमानस्थलमा नियमित हवाई सेवा सुरु भएपछि वर्षौंदेखि प्रतीक्षारत सप्तरीबासी उत्साही भएका छन् ।

काठमाडौँदेखि ४६ जना यात्रु लिएर आएको र २२ जना राजविराजबाट काठमाडौँ जाने सबै यात्रुलाई माला लगाई सम्मान गर्दै सप्तरी उद्योग वाणिज्य संघले अब नियमित हवाई सेवाको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका छन् । विमान सेवा नियमित भएसँगै जिल्लाको विकास र समृद्धि हुने विश्वास समेत व्यक्त गरिएको छ ।

करिब ४८ विगहा क्षेत्रफलमा फैलिएर रहेको विमानस्थलमा यहि जेठ ९ गते श्री एयरलाइनले सफल परीक्षण पश्चात असार १ गतेदेखि नै नियमित हवाई सेवा सुरु हुने भनिए पनि केही प्रविधिक समस्याको कारण आइतबारदेखि मात्र सञ्चालनमा आएको हो ।

विमानस्थलमा १ हजार ५ सय मिटर लामो र ३० मिटर चौडाइको पक्की धावनमार्ग, ९० मिटर लामो र ६० मिटर चौडा एप्रोन तथा १ सय १० मिटर लामो र २० मिटर चौडाइको ट्याक्सी वेको निर्माण कार्य सकिएको छ ।

हवाई सेवालाई निरन्तरता दिन राजविराज नगरपालिका, नागरिक समाज, दर्जनौ पत्रकार, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका जिम्मेवार निकाय तथा व्यक्तिहरुले आफूहरुको सधैं साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । नियमित हवाई सेवा सञ्चालन भएपछि सप्तरी लगायत सुनसरी, उदयपुर, सिरहा, ओखलढुंगा र भारतीय पर्यटकहरु समेतले लाभ लिने छन् ।

Loading...