पुस्तक फिर्ता नगर्नेको नाउमा कविता नै लेख्नु पर्यो : शीतल गिरी

अन्तर्वार्ता

शीतल गिरी अनुसन्धाता हुन् । उनी गहन पुस्तक नै पढ्न रुचाउँछन् र त्यस्तै गहन विषयमा कलम चलाउँछन् । उनको रुचीको क्षेत्र भनेको प्रागइतिहास, दर्शन र संस्कृति हो । उनको २०६३ सालमा छापिएको निबन्ध संग्रह ‘प्रशंगबस’ ले उनको लेखकीय क्षमता देखाएको छ । उनले एकल र सहलेखन गरेर हालसम्म ८ वटा कृति प्रकाशन गरिसकेका छन् । अघिल्लो महिना मात्रै उनको पौराणिक विषयवस्तुमा आधारित ‘तपोधन’ नामक उपन्यास प्रकाशित भएको छ । यो पुस्तकको चर्चा अहिले गहन पाठक र अध्येतामा राम्रै चलिरहेको छ । आज विश्व पुस्तक दिवस पनि परेको सन्दर्भमा उनै गहन अध्येता शीतल गिरीसँग हाम्रा सम्पादक डिल्लीरमण सुवेदीले गरेको पुस्तकवार्ता यहाँ प्रस्तुत गरिएको छ ।

कस्ता पुस्तक चाहिँ पढ्ने ?
– आफ्नो रुची, क्षमता र आवश्यकताअनुसारका पुस्तक पढ्ने हो । जस्तो म कविता लेख्दैछु भने १५÷२० वटा कविताका पुस्तकहरु पढ्ने गर्थेँ । यसो गर्दा आफ्नो लेखनलाई कुन रुपमा ढाल्ने भन्ने आधार तयार हुन्छ । यसअघि मेरो उपन्यास ‘तपोधन’ लेख्न पनि धेरै सम्बन्धित पुस्तकहरु पढेको छु । जसले मलाई मेरो बाटो निश्चित, व्यवस्थित र सहज बनाउन सहयोग गर्यो । अरुका पुस्तक नपढी लेखिएको आफ्नो लेखन सतही हुन्छ भन्ने मलाई लाग्छ ।

एउटा लेखकलाई पुस्तकको महत्व कति हुन्छ ?
– ज्ञानको प्राप्ति कि त पढेर हुन्छ कि त परेर हुन्छ । परेर लिएको ज्ञान बलियो त हुन्छ तर सहज र व्यवस्थित हुँदैन । अर्थात् आफ्नो लक्ष्यसम्म पुग्ने सरल बाटो पत्ता लाग्दैन । गन्तब्यसम्म पुग्न त सकिएला तर सहज र सरल किसिमले पुग्न सकिँदैन । त्यसैले पुस्तकको महत्व ठूलो छ ।

पुस्तककालागि कति खर्च गर्ने गर्नु भएको छ ?
– यति नै भन्ने त हुँदैन तर पनि वार्षिक २० हजार जति खर्च हुने गरेको छ । आफूलाई चाहिएको पुस्तक उपहार वा सित्तैमा त पाइँदैनन् त्यसैले आवश्यकता अनुसार किन्ने गरेको छु । कतिपय पुस्तकहरु यस्ता छन् जो मेरो सामथ्र्यले नभ्याउने पुस्तक छन् जो अझै मैले किन्न सकेको छैन । त्यसमा भारतीय लेखक जयनेन्द्र कुमारका पुस्तक हुन् ।

पुस्तक किन्ने खर्च कसरी व्यवस्थापन गर्ने गर्नु भएको छ ?
– यसरी नै हुन्छ भन्ने त छैन । आवश्यकताअनुसार खर्च त भइहाल्छ । आफूलाई चाहिने पुस्तक कतै पाइयो भने किनिहाल्ने पनि गरेको छु तर प्रायः गरेर पत्रपत्रिका, जर्नलमा छापिएका लेख, रचना वा अनुसन्धानबाट आएको पैसा नै पुस्तक किन्नमा खर्च गर्ने गरेको छु ।

सन्दर्भ : विश्व पुस्तक दिवस, अप्रिल २३

अहिले तपाईंसँग कति पुस्तक छन् ?
– यति नै पुस्तक छन् भन्ने त म भन्न सक्दिन । केही पुस्तक गौरमा छन् । केही अन्यत्र पनि छन् । यहाँ काठमाडौँमा केही पुस्तक छन् । दुई दराज जति काठमाडौँमा होलान् तर संख्या भने गनेको छैन ।

पुस्तक अरुलाई कति बाढ्नु हुन्छ ?
– प्रागइतिहास, संस्कृति र दर्शनसम्बन्धी पुस्तकहरु म कसैलाई पनि दिन्न । त्यस बाहेकका पुस्तक अरुलाई पनि दिने गरेको छु जुन मलाई आवश्यक जस्तो लाग्दैन । राम्रा पुस्तक भए पनि यो नभए पनि मलाई हुन्छ भन्ने लागेको पुस्तक मात्रै अरुलाई दिने गरेको छु । जस्तो तसलिमा नसरिनको ‘लज्जा’, दुर्रानीको ‘मेरे आक्का’ जस्ता पुस्तकहरु धेरै राम्रा छन् तर यस्ता पुस्तक म आफूसँग राख्दिन ।

‘पुस्तक नफर्काउने मित्रप्रति’ भनेर कवितासमेत लेख्नु भयो नि ?
– एक जना मित्रले मेरो पुस्तक लिनु भएको थियो । तर फर्काउन नचाहने । त्यो पुस्तक अप्राप्त भएकोले मैले फर्काउन अनुरोध गर्दा ‘पुस्तक पनि फर्काउनु पर्छ र !’ भन्ने जवाफ पाएपछि त्यो कविता लेखेको हुँ । त्यसपछि पुस्तक पनि फिर्ता पाएँ । कतिपय मित्रहरुको पुस्तक लिने तर नफर्काउने बानी हुन्छ । यसबाट धेरै पुस्तकप्रेमीहरु पीडित भएका छन् । त्यो कविता जतिले पढे उनीहरुले मलाई पनि यस्तो परेको छ भन्ने प्रतिक्रिया दिने गरेका छन् । यो पुस्तक माग्ने कुरा नै अफ्ठ्यारो कुरा हो भने दिएको पुस्तक फिर्ता माग्नु झन् गाह्रो । कसैलाई दिएको पुस्तक उसको दराजमा देख्दा पनि ‘ऊ त्यो पुस्तक मेरो हो फिर्ता ले’ भन्न सकिँदैन । तर आफ्नै पुस्तकले आफैँलाई गिज्याइरहेको हुन्छ ।

पुस्तकको सुरक्षा कसरी गर्ने गर्नु भएको छ ?
– म गौरमा रहँदा पुस्तकालय पनि चलाउँथे । त्यहाँ धमिरा नलाग्ने केमिकल छर्किन्थ्यौँ । कागज नधुलिने केमिकल हालिन्थ्यो । कुटको गत्ता लगाएर पनि राखिथ्यो । तर यहाँ आफ्नै घर नभएकोले व्यवस्थापन गर्न चुनौती बनेको छ । पुस्तकहरु मेरालागि मात्रै आवश्यक हुन् परिवारका लागि होइनन् । त्यसैले म रहुन्जेल पुस्तक नबिग्रिउन भन्ने हिसाबले राखेको छु । गौरका पुस्तक धमिरा लागेका छन् । अर्को ठाउँमा राखेका पुस्तक कुन अवस्थामा छन् अहिले मलाई नै थाहा छैन । तर अहिले मसँग साथमा भएका पुस्तक आवश्यक परेको बेला भेटिने गरी राखेको छु ।

तपाईंको पहिलो पुस्तक कुन हो ? पुस्तक नै छाप्नुपर्छ भन्ने कसरी लाग्यो ?
– म पहिले कविता लेख्थेँ । कुनै कार्यक्रमहरुमा सुनाउँथे । थपडी पनि निक्कै पाएको छु । त्यसपछि अन्य साहित्यकारजस्तै बन्न पुस्तक छाप्नु पर्छ भन्ने लाग्यो र ‘महाकाली कविता संग्रह’ छापेँ । तर पछिल्लो समयमा म कविता लेख्न छोडेँ । २०६३ सालमा छापिएको निबन्ध संग्रह ‘प्रसंङ्गबस’ ले चाहिँ शीतल गिरीको नाम दियो ।

तपाईंको पछिल्लो कृति ‘तपोधन’ को बजार अवस्था कस्तो छ ?
– ‘तपोधन’ प्रकाशित भएको जम्मा एक महिना हुँदैछ । आज पनि प्रकाशककोमा पुगेर आएँ । यसको दोस्रो संस्करण प्रकाशन गर्ने तयारी भइरहेको पाएँ । ओरियन्टल प्रकाशनले यो पुस्तक छापेको हो । मेरो बाजारु पुस्तक नभए पनि यति चाँडै पहिलो संस्करण सकिएको पाएको छु । गम्भीर अध्ययनकर्ताको पनि कमी छैन भन्ने कुरा यो पुस्तकको बिक्रीबाट अनुमान गर्न सकिन्छ ।

हिजो र आजको पठन संस्कृतिमा के फरक पाउनु भएको छ ?
– शिक्षित पहिले भन्दा अहिले धेरै छन् । जब शिक्षित बढि हुन्छन् भने त्यहि शिक्षित भित्रको सानो अंश हो पुस्तक पढ्ने जमात । पहिले यस्तो संख्या थोरै थियो, थोरैले पुस्तक पढ्थे । तर यो होइनकी पहिले पठन संस्कृति कम थियो । संख्यात्मक हिसाबले पहिले थोरै देखिए पनि प्रतिशतको हिसाब गर्दा उस्तै नै छ । पाठकको संख्या बढेको छ, प्रकाशकको संख्या बढेको छ र लेखकको संख्या पनि बढेको छ पनि त्यसैले अहिले पठन संस्कृति बढेको छ भन्न सकिन्छ ।

कस्ता पुस्तक बजारमा बिक्छन् र कस्ता टिक्छन् ?
– यौन समाजमा बिक्ने चिज हो । त्यससँग सम्बन्धित केही पुस्तकहरुको बिक्री संख्या ठूलो हुन्छ । भारतीय रेलवे स्टेशनमा हेर्नु भयो भने यस्ता किताब लाखौँ प्रति बिकेका हुन्छन् । नेपालमा पनि यस्तै पुस्तक बिक्री हुने गरेका छन् । कतिपय प्रचार प्रसारको भरमा केही दिन वा महिना बिक्ने पुस्तक हुन्छन् । अर्का तिर हुन्छन् राम्रा पुस्तक, जो टिकाउ हुन्छन् । भारतीय साहित्यकार राजेन्द्र यादव, मनु भण्डारीजस्ता लेखक गहन लेखक हुन् । उनीहरुका पुस्तक कम बिकेका हुन्छन् तर टिकेका छन् । त्यहाँ थोरै भनेको पनि करोडौँ हुन्छ । नेपालमा पनि केही गम्भीर लेखक छन् र त्यसै अनुसारका पाठक पनि छन् । लेखकले त्यस्तै गम्भीर विषयमा लेख्छन् । पाठकले पनि त्यस्तै पुस्तक खोजी खोजी पढ्ने गरेका छन् । त्यसैले गम्भीर अध्येता पनि टिकेका छन् ।

तपाईंले पढेका र अरुलाई सिफारिस गर्नु पर्ने केही पुस्तक छन् ?
– मञ्जरी प्रकाशनले प्रकाशित गरेको ‘नेपालेश्वर’ भन्ने पुस्तक पढ्नै पर्ने पुस्तक हो । ओरियन्टलले प्रकाशित गरेको ‘जंगबहादुर’ भन्ने पुस्तक पनि पढ्नु पर्छ । जंगबहादुरका छोराले लेखेको यो पुस्तक पढ्दा जंगबहादुर को हुन् ? उनको व्याख्या किन गलत ढंगले गरिएको छ ? भन्ने जस्ता कुराको जानकारी प्राप्त हुन्छ । यसैगरी नारायण ढकालको ‘प्रेतकल्प’ पुस्तक पनि पढ्नै पर्ने पुस्तक हो । जसबाट काठमाडौँ वरिपरिको समाज, नेपालको राणा शासनको अवस्था आदिको बारेमा बुझ्न सकिन्छ । विद्युतीय सामग्री र कम्प्युटरसम्बन्धी राम्रो ज्ञान दिने बखतबहादुर थापाको उपन्यास* ‘जंगेको डायरी’ पनि पढ्नै पर्ने पुस्तक हो ।

*उपन्यास हुनु पर्नेमा अन्यथा भएकोले सच्याइएको