ताकिएको मितिमा पार्टी एकता हुँदैन : प्रचण्ड

राजनीति

काठमाडौँ, ९ वैशाख, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तोकिएको मितिमा पार्टी एकता नहुने बताएका छन् । आज प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभा गृहमा लेनिन जयन्ती तथा कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

यस अघि एमाले–माओवादी केन्द्रका नेताहरुले वैशाख ९ गते अर्थात् आजको कार्यक्रम मार्फत पार्टी एकीकरणको घोषणा हुने उद्घोष गरेका थिए । तर छलफल र बहस नसकिएकोले आज घोषणा गर्न नसकिएको प्रचण्डले स्वीकार गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तोकिएको मितिमा पार्टी एकीकरण हुँदैन, हेर्दै जानुहोस् तपाईले थाहा नपाएकै दिन पार्टी एकता हुन्छ ।’

हतार गरेर पछि समस्या आउन दिने भन्दा पनि समस्यारहीत एकतामा आफ्नो जोड रहेकोले एकीकरण ढिला भइरहको उनले बताए । उनले सम्मानजनक सहभागिता, समानता र न्यायोचित प्रतिनिधित्व बिना पार्टी एकीकरण हुन नसक्ने पनि स्पष्ट पारे । उनले भने, ‘समानता, सम्मानजनक र न्यायोचित परिस्थिति के हो भन्ने कुरालाई पनि विचार गरेर बुद्धिमतापूर्वक समझदारी तयार गर्नुपर्छ ।’

प्रचण्डले कम्युनिष्ट पार्टी एकीकरण गर्नु पर्छ भन्ने बहस २०४६ सालको आन्दोलनपछि पनि उठेको प्रसंग निकाल्दै पटक–पटक भएको बहसले अहिले सार्थक रुपमा पाउन लागेको बताए ।

Loading...