उपप्रमुखको उदाहरणीय कामः दाइजो हटाउन आफ्नै छोरीबाट थालनी

प्रदेश

लहान, ८ वैशाख, दाइजो प्रथा तराई मधेरका घरघरको समस्या बन्दै गइरहेको बेला लहान नगरपालिकाका उपप्रमुखले उदाहरणीय काम गरेका छन् । उपप्रमुख सरियार चौधरीले आफ्नै छोरी मिन्छु चौधरीको विवाह दाइजो बिहीन गरेपछि उनी गाउँ, समाज र प्रदेशमै उदाहरणीय बनेका हुन् ।

उपप्रमुख चौधरीले छोरी मिन्टुको विवाह चितवन भरतपुर–१० का रविन सापकोटासँग गरिदिएका हुन् । तराई–मधेस क्षेत्रमा अन्तरजातिीय विवाह गर्नु सामाजिक स्वीकार्यताको हिसाबले आफैमा कठिन काम हो । त्यसमाथि सो क्षेत्रमा दाइजो निषेध गर्नु अर्को चुनौती हो । तर उपप्रमुख चौधरीले गरेको काम साहसिक भएको महिला अधिकारकर्मीहरु बताउँछन् ।

महिला पुनस्र्थापना केन्द्र लहानका संयोजक सुनीलकुमार साहले जातिगत रुपमा उपप्रमुख चौधरीलाई जति जोखिम मोल्नु परे पनि उहँँले गर्नुभएको प्रतिबद्धताअनुरुप दाइजो न्यूनीकरणको लागि आफ्नै घरबाट थालेको अभियान सराहनीय भएको बताए । उपप्रमुख चौधरीले नगरपालिकामा निर्वाचित भए लगत्तै दाइजो प्रथा हटाउन आफू सक्रिय रहने उद्घोष गरेका थिए ।

यसरी उपप्रमुखले नै दाइजो बिहीन विवाह गरेर समाजमा नमुना काम गरेको भन्दै दाइजो उन्मुलनको अभियानमा बल पुग्ने सरोकारवालाहरुले बताएका छन् ।

Loading...