बाम गठबन्धन अहिलेको अपरिहार्य आवश्यकता

सम्पादकीय

गत असोज १७ गते दशैँको माहोलकैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो तहका नेतालाई पनि जानकारी नदिइ पार्टी एकता गर्ने उद्घोष गरे । उनीहरुको यो उद्घोषबाट एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता त अलमलमा परे नै तर जनतामा भने एक किसिमको उत्साह देखियो ।

देशमा संविधान बनिसकेको अवस्था, स्थानीय तहको निर्वाचन भइसकेको अवस्था र प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनको मुखमा आएर दुई ठूला पार्टीले गरेको यो निर्णयबाट जनतामा एक किसिमको भरोशा पनि जाग्यो । जनताले सोचे ‘अब देश बन्छ, संवृद्धिको बाटो खुल्छ ।’
सोही बलमा दुबै पार्टीले संयुक्त उम्मेदवार खडा गरी निर्वाचनको परिणाम पनि आफ्नो हातमा परे । अर्थात उनीहरुले चलेको चाललाई जनताले पत्याए । दुई पार्टीको गठबन्धनले करिब दुई तिहाइको मत पायो ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन लगत्तै पार्टी एकीकरण गर्ने घोषणा गरेका दुई पार्टीका शीर्ष नेता निर्वाचनपछि टाढा–टाढा हुँदै गए, पार्टी एकीकरण धकेलिँदै गयो । यो र त्यो बहानामा पार्टी एकीकरणको ठेलिएको काम अहिलेसम्म पनि पुरा हुन सकेको छैन । वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना र लेनिन दिवसको अवसर पारेर पार्टी एकीकरणको घोषणा गर्ने नयाँ मिति तय भएको छ । तर त्यो मितिको सम्मुखमै आइपुग्दा न सम्भावना देखिएको छ न त टरेकै छ ।

माधवकुमार नेपाल नेतृत्वको कार्यदलले राजनीतिक प्रतिवेदन बुझाइ सकेको छ । रामबहादुर थापा वादल नेतृत्वको कार्यदलले पनि आन्तरिक विधान मस्यौदा पार्टी एकता संयोजन समितिलाई बुझाइसकेको छ । तर साना कुराले अड्किएको गाँठो फुकाउन सकेका छैनन् ।

नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने, पार्टीको नेतृत्व ओली र प्रचण्डले महाधिवेशनसम्म आलोपालो गर्ने, माक्र्सवाद, लेनिनवादलाई पार्टीको मार्गनिर्देशक सिद्धान्त मान्ने, माओवाद, जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादमा मिलेका साझा विषयलाई ग्रहण गरी परिमार्जन र विकाससहित बहस, छलफलमा लैजाने, माओत्सेतुङलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका नेताका रुपमा स्वीकार गर्ने जस्ता विषयमा दुवै दलका नेताहरु मिलेको बताइन्छ ।

संख्यात्मक विषयमा विवाद कायमै रहेको, माओवादी जनयुद्धलाई प्रस्तावनामा कहाँनेर समेट्ने, पार्टीको चुनाव चिन्ह सूर्य राख्ने कि सूर्यभित्र हँसिया हथौडा पनि राख्नेजस्ता सामान्य विषयमा हलो अड्किरहेको छ ।

पछिल्लो समयमा आएर दुबै पार्टीहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । जनयुद्ध शब्दप्रति एमालेले विमति जनाएको, चुनाव चिन्ह सूर्य मात्रै हुनु पर्ने दाबी गरेको, पछिल्लो निर्वाचनकै परिणामअनुसार संख्या बाँडफाँड गर्नु पर्ने अडान राखेको जस्ता आरोप माओवादीले लगाएको छ । यता एमाले पनि आरोप लगाउन कम देखिएको छैन । उसले पूर्वसहमति अनुसार ६०/४० को भागबण्डामा नमिलेको, पछि ५०/५० को बखेडा झिकेर सहमतिमा आउन नचाहेको, जनयुद्धलाई बढि महत्व दिएको, सूर्य चिन्ह लोकप्रिय भइसकेकोले चुनाव चिन्ह सोही राख्न नमानेकोजस्ता आरोप उसले लगाएको छ ।

यस्ता सामान्य विषयमा पार्टी एकीकरण अड्किँदा जनतामा एक किसिमको निराशा देखिएको छ । जनताहरु कतै पार्टी एकीकरण नै पो टर्ने हो कि भन्ने आशंका गर्न थालेका छन् ।

पार्टी एकीकरण गरेर देशको मुहार फेर्न लागिपर्नु पर्नेमा साना विवादमा अल्झिएर देशलाई कमजोर पार्ने, जनताको विश्वासमाथि घात गर्ने, वर्तमान सरकारलाई अस्थिर पार्ने काम दुबै पार्टीले गर्न हुँदैन । बाम एकताबाट जनताले समृद्धिको अपेक्षा गरेका छन् । देशको उज्वल भविष्यको कल्पना गरेका छन् । युवाहरुले देशमै रोजगार र स्वरोजगारको सपना देखेका छन् । यो अभिभारा पुरा गर्ने जिम्मा अहिले बाम गठबन्धनकै थाप्लोमा आएको छ । दुई पार्टीहरु मिल्नुको विकल्प छैन, देश र जनतालाई समृद्धिको बाटोमा हिडाउनुको विकल्प छैन । यो कुरा दुबै पार्टीका शीर्ष नेता र सम्बन्धित नेता तथा कार्यकर्ताहरुले बुझ्नु पर्छ । त्यसैले चाँडो भन्दा चाँडो सहमतिमा पुगेर राजनीतिक निकास दिन जरुरी छ ।

Loading...